मुख्य सामग्रीमा जानुहोस्

न्यायपालिका

सन् २०२० देखि

आइतबार, २२ कात्तिक २०८३ · ८ नोभेम्बर २०२६

English editionEnglish
ब्रेकिङ छाडा पशु छाड्ने र यातना दिनेलाई कस्तो कानुनी कारबाही हुन्छ?
नेपाल बार एसोसिएसन

कानुन व्यवसायीहरुको आचार सहितामा पनि बिचार गर्ने कि?

बिगत केहि हप्ताबाट बरिष्ठ अधिवक्ता र दिग्गज कानुन ब्यवसायीहरुको नेतृत्वमा न्यायपालिका शुद्धकरण अभियान चलिरहेको छ | यसको उदेश्य न्यायलयमा भएको भष्ट्राचार न्युनिकरण र बिगत केहि वर्ष यता भएका फैसलाहरुले न्यायलयको बिगारेको छबि र न्याय प्रतिको बिश्वासलाई पुनः स्थापित गर्नु हो भन्ने आकलन गरेको छु | जे होस यसलाई एउटा साकारात्मक र न्यायलयलाई ट्रय्याकमा ल्याउनका लागि कानुन व्यवसायीहरुबाट भएको सिर्जनसिल दवाबको रुपमा लिन सकिन्छ | बार र बेन्चको सम्बन्धलाई पनि यसले पुर्णता प्रदान गर्ला | तर यो अभियानको समाचारहरु मेलै नजिकवाट नियालिरहदा मेरो मनमा केहि प्रश्नहरुको उब्जिएका छन् |  जस्तै के न्यायलयको शुद्धिकरणको लागि न्यायलयलाई मात्र दबाव दिन जरुरी छ? के कानुन व्यवसयीहरुलाई शुद्धिकरणको आवश्यक्ता छैन? के समाजमा भएको आधुनिकिकरण संगै प्रबिधिको प्रयोग गरि कानुन व्यवसायीहरुले गर्ने गतिबिधिहरु कानुन व्यवसायीको नैतिक आचरणको ब्याख्या भित्र पर्छ? र के कानुन व्यवसायीको आचार संहितामा पनि परिमार्जन जरुरी छ ? यो पङ्त्ति यिनै प्रश्नहरुको उत्तर खोज्न केन्द्रित हुनेछ | 

अधिवक्ताको लाईसेन्स लिए पश्चात पेशा सुरु गरेपछि ३-४ बर्षको अनुभवमै पनि मलाई क्लाईन्टहरुले सोधेका केहि प्रश्नहरु हुन “न्यायलयमा घुस कस्ले ख्वाउछ? बेन्च सपिङ कस्ले गर्छ ? तपाई वकिल हो, मुद्दा मिलाउन सक्नु हुन्न? सक्नु हुन्न भने त के वकिल?” पहिला पहिला वकिललाई अदालतको सहयोगी भनिन्थ्यो | अहिले पनि कहिले काहि सम्मानित अदालत समक्ष बहस गर्ने अवसर जुर्दा गर्वका साथ “श्रीमान एयाज ए अफिसर अफ दिस कोर्ट मैले बेन्चलाई यत्ति कुरा स्मरण गराउनै पर्छ” भनेर भन्ने गरेको छु | काठमन्डौ वा एक आध ठुलो शहरहरुमा कानुन व्यवसायीको थोर बहुत ईज्जत भए पनि अन्य शहरहरुमा आम मानिसको कानुन व्यवसायी प्रतिको बुझाई स्पष्ट छ “ वकिल भनेको दलाल हो, यिनिहरुको काम भनेकै मुद्दा मिलाउने हो |” 

मैले अहिले सम्म मुद्दा मिलाएको पनि छैन, दलालको भुमिका समेत निर्वाह गर्ने अवसर जुरेको छैन तर मलाई समाजले “दलाली पेशा पो पढ्नु भएछ” भन्दा मलाई भएको आत्मग्लानीको जिम्मेवारी चाही कस्ले लिने होला? “अफिसर अफ द कोर्ट ” र “रेपुटेड प्रोफेसन” भनिएको कानुन व्यवसायीको पेशालाई दलाली पेशा भनेर चिनाउन योगदान गर्नु भएका विद्वान कानुन व्यवसायीहरुले मैले महशुस गरेको आत्मग्लानीको जिम्मेवारी लिनु हुन्छ त? सायद लिनु हुदैन होला | हाम्रो पेशालाई दलाली पेशाबाट पुनः रेपुटेड पेशामा पुर्याउन समेत वाहाहरुलाई फुर्सद छैन होला तर अहिले कानुन पढ्ने जमातहरुलाई पुनः अफिसर अफ द कोर्ट बनाउनका लागि कस्ले मेहनत गर्ने त? सधै “सेवा” भनेर नियन्त्रित हाम्रो पेशालाई अहिले डिजिटल युग अनुसार फराकिलो र समय सान्दर्भिक बनाउन कस्ले भुमिका खेल्ने त? कानुन व्यवसायीहरुलाई भोलिको न्यायलयको सुधारका लागि वरिष्ठ ज्युहरुले अहिलेबाट कुन स्कुल अफ थटबाट गाईड गर्ने होला? यसको जवाफ दिने जिम्मेवारी वरिष्ठ ज्युहरु, साथै बार एशोसिएसनहरुकै होला यधपी सबै सिनियर एडभोकेटहरुबाट भने म यि प्रश्नहरुको जवाफको अपेक्षा गर्दिन | भावि पुस्ता र पेशाको मर्यादाको चिन्ता भएका विद्वानहरुले केहि मन्थन भने पक्कै गर्नु होला र केहि त्यस्ता प्रभावशाली विद्बान वरिष्ठ ज्युहरु हुनुहुन्छ जस्को हामी प्रतिको व्यवहार र वाहाहरुको पर्सन्यालिटिले समेत हामी नवोदितहरु प्रभावित छौ | वाहाहरुले पक्कै म नवोदितले उठाएको यि प्रश्नहरुमा बिचार बिमर्श गर्नु होला | 

 हुनत सबै प्रश्नको जवाफका लागि सधै अग्रजहरुको मुख हेरर पनि त भएन | सबै अग्रज कानुन व्यवसायीहरुलाई मेरो भविष्य र यस पेशाको मर्यादाको बारेमा चिन्ता नभए पनि मलाई भने म पछि यस पेशामा केहि गर्नु पर्छ भनेर आउने नवोदित कानुन व्यवसायीहरुको भविष्य र पेशाको मर्यादाको बारेमा चिन्ता भने पकै छ | “हाम्रो त उमेर गै सक्यो अब जे गर्ने हो भाईहरुले गर्ने हो ” भनेर पन्छिन खोज्ने अग्रजहरुलाई पनि धन्यवाद भने भन्नै पर्छ | बिना मार्ग दर्शन वाहाहरुले हामीलाई यस्तो गम्भिर जिम्मेरवारी सुम्पिन खोज्नु भएको छ | जान अन्जानमा भएको यो जिम्मेवारी हस्तान्तरण प्रकृयाले मलाई केहि प्रश्नहरुको उत्तर खोज्न बाध्य बनायो | पहिलो के सबै विद्वान अग्रजहरु र सम्बन्धित बार एशोसिएसनको नेतृत्व पकंतिहरु हामी नवोदिन कानुन व्यवसायीहरुलाई गाईड गर्ने जिम्मेवारीबाट पन्छिनु भएको हो ,  हैन भने हामी किन अभिभावक बिहिन सरह यो पेशामा काम गर्न वाध्य भएका छौ?  दोस्रो, हामी जस्तो नवोदित कानुन व्यवसायीहरुले यस पेशामा दशकौ बिताउन अझै बाकि रहेको अवस्थामा यस पेश प्रति म पनि त उत्तिकै जिम्मेवार छु होला नि ? पहिलो प्रश्नको उत्तर मेलै सरल भाषामा “सबै विद्वान अग्रजहरु आफ्नो जिम्मेवारीबाट पन्छिनु भएको छैन” भनि दिन सकुला तर यसको बिमर्श गर्नु अझै पनि विद्वान अग्रजहरु र सम्बन्धित बार एशोसिएसनहरुको नेतृत्वलिनु भएका अग्रजहरुको काधमा छ र दोस्रो प्रश्नको उत्तरका लागिनै मैले मेरो जिम्मेवारी बोध गरेर यो लेख कोर्ने प्रयत्न गरेको छु | आगामी दिनहरुमा कानुन व्यवसायीको व्यवहारको शुद्धिकरण गर्ने र कानुन व्यवसायीहरुको आचार संहितालाई समय सान्दर्भिक रुपमा परिमार्जित र अध्यावधिक गर्ने अभियान चलेको बेला मेरो यो लेखलाई ग्रहण योग्य ठानिएमा एउटा नवोदित कानुन व्यवसायीको हैसियतले मेरो यस पेशा प्रतिको जिम्मेवारी केहि हद सम्म पुरा भएको महशुस भने गर्ने छु | 

के कानुन व्यवसयीहरुलाई शुद्धिकरणको आवश्यक्ता छैन?  

पश्चिमा मुलुकहरुमा कानुन व्यवसायीको पेशा व्यापारका रुपमा स्थापित भएता पनि नेपालमा भने दशकौ देखि यसलाई सेवाको रुपमा ग्रहण गरिएको छ | यसै कारणले नेपालमा बिगत लामो समय देखि केहि निश्चित आचार संहिताहरु अनिवार्य रुपमा कानुन व्यवसायीले पुरा गर्नु पर्ने गरि व्यवस्था भएको छ | नेपाल कानुन व्यवसायी परिषद २०५० सालमा स्थापना भए पुर्व कानुन व्यवसायीहरुको अनुशासन सम्बन्धि कारबाही गर्ने अधिकार सम्मानित सर्वोच्च अदालतको रहेको थियो भने कानुन व्यवसायी परिषद ऐन, २०५० आए पश्चात यो जिम्मेवारी नेपाल कानुन व्यवसायी परिषदलाई दिईयो | यस ऐन पश्चात नेपाल कानुन व्यवसायी परिषदले कानुन व्यवसायीहरुको आचरणको सम्बन्धमा केहि महत्वपुर्ण अधिकारहरु जस्तै कानुन व्यवसायीहरुको आचारसंहिता निर्धारण गर्ने, तोकिएको व्यावसायिक आचारसंहिता अनुरूप कानून व्यवसायीले काम गरे नगरेको सम्बन्धमा अनुगमन गर्ने, व्यावसायिक आचरण विरूद्ध गरेको कार्य सम्बन्धी उजूरी लिने र अनुशासनमा सजाय गर्ने जस्ता अधिकारहरु प्राप्त गर्यो | ऐजन ऐनको दफा २७ ले दिएको अधिकार प्रयोग गरि परिषदले “कानुन व्यवसायीको आचार संहिता २०५१” पारित गर्यो | २०५१ सालको समाज र त्यस बेलाको बिकासलाई मध्यनजर गरि उक्त आचार संहितालाई बिश्लेषण गर्ने हो भने यसको सान्दर्भिक्तामा प्रश्ननै खडा गर्न सकिदैन | त्यस बेला बनाईएका आचार संहिताका नियमहरुले अझै पनि कानुन व्यवसायी र यस पेशाको मर्यादालाई बचाउन सफल भएकै छ | २०५१ सालमा पारित गरिएको उक्त संहितामा लेखिएका अनिवार्य रुपामा पालना गर्नु पर्ने पेशागत आचारहरुको मेरुदण्ड हो “नैतिक्ताको सिद्धान्त” | यहि सिद्धान्तको अधिनमा रहेर व्यवस्था भएको आचारहरु जस्तै “कानून व्यवसायीले नैतिकताका आधारभूत सिद्धान्तको प्रतिकूल हुने गरी कुनै कार्य गर्न हुँदैन , झूठा मुद्दा चलाउन पक्षलाई प्रेरणा दिन हुदैन, कसैलाई दुःख दिने वा प्रतिशोध लिने उद्देश्यले मुद्दा सिर्जना गर्न हुँदैन , न्यायिक प्रक्रियालाई दुरूपयोग गर्न वा गराउन हुँदैन, न्याय प्रशासनसँग सम्बन्धित काम कारवाहीका सिलसिलामा अदालत वा न्यायाधीश वा कानून व्यवसायीप्रति अनास्था पैदा हुने किसिमका झूठा प्रचार प्रसार गर्न हुदैन, व्यावसायिक प्रचारका उद्देश्यबाट कुनै पनि किसिमको नारा, परिपत्र, समाचार प्रकाशन, बिज्ञापन र पत्राचार जस्ता काम गर्न हुदैन , व्यावसायिक प्रचारका उद्देश्यले ठूलो नामपेटिका (साइनबोर्ड) राख्ने, नामपेटिका वा परिचयपट्टा (भिजिटिङ्ग कार्ड) वा फायल वा पत्राचार ठेली (लेटर प्याड) मा पूर्व हैसियत वा कानून व्यवसायसँग असम्बन्धित पद वा हैसियत लेख्न छाप्न हुदैन, पक्षसँग प्रतिशतमा पारिश्रमिक लिने वा ठेक्का पट्टा बोल कवोल गरी मुद्दा लिन हुदैन,  मुद्दा प्राप्त गर्न दलाल नियुक्त गर्न वा मुद्दा उपलब्ध गराइदिए बापत कसैलाई दलाली दस्तूर (कमिशन) दिन हुदैन, भ्रष्टाचार गर्न गराउन हुदैन,  नैतिक पतन देखिने फौजदारी अपराध गर्नु हुदैन” आचारहरुले कानुन व्यवसायीको पेशालाई मर्यादित बनाउन अझै पनि सकिनसकि प्रयत्न गरि रहेकै छ | 

यतिको मर्यादित र कडा आचारहरु हुदा पनि अहिले कानुन व्यवसायीहरुलाई दलाल भनेर किन चिनिएको होला? हामी भन्दा अग्रज कानुन व्यवसायीहरुबाट यि आचारहरुको पालन कति भयो कति भएन त्यसको जवाफका लागि मिश्रृत प्रतिक्रियाहरु आउन सक्लान तर अहिलेको अवस्थामा कानुन व्यवसायीहरुको धमिलिदो छविका लागि हामी नवोदित भने जिम्मेवार छौनौ होला तर अबको दश वा पन्ध्र बर्ष पश्चात समाजमा यस पेश प्रतिको छविको लागि भने हामी जिम्मेवार पक्कै हुनेछौ | तसर्थ आगामी दिनहरुमा यदि हामी नबोदित कानुन व्यवसायीहरुलाई केन्द्रित गरेर सम्बन्धित बार ऐशोसिएनहरुले कानुन व्यवसायीहरुको आचार शुद्धिकरणको अभियान चलाउन र एउटा परिमार्जित स्कुल अफ थटबाट हामीलाई गाईड गर्न नसकेको खण्डमा यसले हामी नवोदित कानुन व्यवसायहरुको भविष्य र समग्रमा भोलिको न्यायलयलाई पनि उत्तिकै असर गर्न सक्छ | भ्रष्ट र दलाल प्रवृति अंगिकृत गरि सकेका कानुन व्यवसायीहरुलाई शुद्धिकरण गर्नु भन्दा उर्जाशिल नवोदित कानुन व्यवसायीहरुलाई समयमै नैतिक स्कुलिङ दिनु र उचित बाटोमा ल्याउनु बुद्धिमानी हुन्छ |  उचित मार्ग दर्शन र अभिभावक्त्व नभएको नवोदित कानुन व्यवसायीहरु मर्यादित बन्ने भन्दा अमर्यादित बन्ने खतार धेरै हुन्छ | 

के कानुन व्यवसायीको आचार संहितामा परिमार्जन आवश्यक छ? 

२०५१ साल यताको समयमा कानुन व्यवसायीहरुको आचार र कार्य सम्पादनमा आमुल परिवर्तन आएको देखिन्छ | यसको लागि कानुन व्यवसायीहरुको समाजमा भएको छबि एउटा उदाहरण हुन सक्ला | गतिशिल समाजमा भित्रिएको परिवर्तन संगै कानुन व्यवसायीहरु पनि आधुनिकिकरणबाट प्रेरित हुनु स्वभाविकनै हो | यहि परिवर्तनहरुका साथ कानुन व्यवसायीहरु “डिजिटल ऐरा” मा प्रवेश गरेका छन् भन्दा अन्यथा नहोला | नेपालमा प्रविधिको प्रयोग गरेर सेवा दिने ल फर्महरुको बिकास भै रहेको छ | अझ हामी जस्तो नवोदित कानुन व्यवसायीहरु त डिजिटल्ली आफ्नो काम गर्न माहिर छौ | तर के यो डिजिटल ऐरामा हुने गतिबिधिलाई २०५१ सालमा पारित गरिएको आचार संहिताले नियन्त्रण गर्न सक्ला? सवाल यो पेशा मर्यादित हुनु पर्छ र कानून व्यवसायीले नैतिकताका आधारभूत सिद्धान्तको प्रतिकूल हुने गरी कुनै कार्य गर्न हुँदैन भन्नेमा केन्द्रित छैन | सबाल डिजिटल युगमा हुने गतिविधिले नैतिक सिद्धन्तको दायरलाई नाध्ने हो वा हैन र डिजिटल युगको एउटा शक्तिशाली अश्त्रका रुपमा रहेको समाजिक सन्जालको प्रयोगले २०५१ सालमा पारित आचार संहिताको मर्म अनुरुप काम गर्छ वा गर्दैन भन्ने हो |  

जस्तै व्यावसायिक प्रचारका उद्देश्यबाट कुनै पनि किसिमको नारा, परिपत्र, समाचार प्रकाशन, बिज्ञापन र पत्राचार जस्ता काम गर्न हुदैन भन्ने आचार संहिताको व्यवस्थाले अहिले फेसबुक र अन्य सामाजिक सन्जालमा भएको प्रायोजित पोष्टहरुलाई समेट्छ वा समेट्दैन? हामी विद्धान अधिवक्ताहरुले दिनहु जसो रिट वा मुद्दा संग सम्बन्धित फेसबुकमा शेयर गरेको गतिबिधिहरु, आफ्नो प्रशंसामा लेखिएका स्ट्याटसहरु,  आफु वा आफ्नो ल फर्मसंग सम्बन्धित सामाचारहरु, सामाजिक संजाल प्रयोग गरेर कुनै ल फर्मले आयोजना गरेको कार्यक्रमहरु, गुगल सर्चमा सर्च ईन्जिन अपटिमाईजेशनको माध्यम प्रयोग गरि आफ्नो फर्मको नाम गुगलको प्रथम पृष्ठमा ल्याउन गरिने प्रायोजित गतिबिधिहरु, सामाजिक संजाल प्रयोग गरेर निशुल्क कानुनी परामर्श वा ल फर्मको वेभ साईटको प्रयोग गरि निशुल्क कानुनी परामर्श दिने जस्ता गतिबिधिहरु हाम्रो लागि प्रचारप्रसार हो वा हैन र यि गतिविधिहरु “व्यवसायिक प्रचारको उदेश्य” भित्र पर्छ वा पर्दैन जस्ता प्रश्नहरुको उत्तर खोज्नु अब बन्ने आचार संहिताको आवश्यक्ता हो | असल नियत र सुचनाको हकको सुनिश्चिततका लागि समाजिक संजालमा शेयर गरिएका पोष्टहरु, न्यायमा पहुच र सुचनाको हकको अवधारणा अन्तर्गत चलाईएका कार्यक्रमहरु व्यवसायिक प्रयोजनको व्याख्यामा नसमेटिएलान तर नेपाल कानुन व्यवसायी परिषदले उचित समयमा आचार संहितालाई परिमार्जन र अध्यावधिक नगरेको खण्डमा भने केहि जटिल समस्याहरु श्रृजना नहोलान भन्न सकिन्न | यसका अलावा गतिशिल समाजमा आधुनिक पेशाका रुपमा कानुन व्यवसायीको पेशालाई स्थापित गर्नका लागि डिजिटल युगमा भएका बिकास र गितिबिधिहरुलाई लक्षित गर्दै कानुन व्यवसायीको पेशा सेवा मुखि हुदै मर्यादित व्यापारमुखि पनि हुनु जरुछ | अव बन्ने कानुन व्यवसायीको आचार संहिताले यि सबै प्रश्नहरुको उत्तर समेट्नु पर्ने हुन्छ | पश्चिमा मुलुकहरुमा आफुले दिने कानुनी परामर्शको प्रायोजित प्रचार प्रचार गर्न खुल्ला गरिएतापनि सभ्य, प्रतिष्ठित र मर्यादित कहलिएको कानुन व्यवसायीको पेशा नेपाल सम्म आईपुग्दा सेवानै भनिएतापनि दलाली पेशको रुपमा परिणत भएको छ जुन हामी जस्तो नवोदित कानुन व्यवसायीहरुको लागि दुभाग्यपुर्ण छ |  कानुन व्यवसायीको पेशा सेवा होस वा व्यापार यस पेशाको मर्यादित बिकासको लागि हामी सबै विद्वान कानुन व्यवसायीहरु पनि उत्तिकै जिम्मेवार छौ | तसर्थ सबै बार एशोशिएशनले नेपाल कानुन व्यवसायी परिषदसंग उचित छलफल गरि गतिशिल समाजमा भएको आधुनिकिकरणलाई अंगिकार गर्ने किसिमको आचार संहिता ल्याउन मद्धत गर्नु अहिलेको आवश्यक्ता हो | 

अधिवक्ता आवेश अधिकारी 

आवद्धता : “लेक्स ज्युरिष्ट” ल फर्म

सेयर

लेखक

आवेश अधिकारी

अधिवक्ता आवेश अधिकारी लेक्स जुरिष्ट (ल फर्म)मा आबद्ध छन्।

आवेश अधिकारीका सबै लेख