गृहपृष्ठसंविधानसंसदसमाजस्तम्भसुरक्षासंसारसंवादसमिक्षासर्वोच्च अदालतसम्पादकीयEnglish

छाउपडी कुप्रथा कहिले सम्म?

महिनावारी वा नछुने हुनु कुनै अपराध होइन न त यो भगवानको श्राप नै हो।
न्यायपालिका
२०७७-०७-२६

छाउपडी प्रथा भन्नाले महिनावारी वा रजश्वला भएको अवस्थामा ५ दिन सम्म घरदेखि टाढा एकान्तमा सानो छाप्रोमा बस्न लगाइने भेदभाव पूर्ण व्यवहारलाई बुझिन्छ। महिनावारी भएको समयमा बस्न बनाइएको छाप्रोलाई छाउपडी गोठ,कुडी,छाउ, खुल्ला आदि भनेर भनीन्छ। प्राय छाउगोठ खुल्लो गोठ भन्दा पनि जीर्ण, साघुँरो, अध्यारो, ओसिलो र असुरक्षित हुन्छ किनकि यो अस्थायी प्रकृतिको र घरबाट टाढा हुन्छ अनि जङ्गली तथा पाल्तु जनावर,सर्प, किरा, सहजै भित्र छिर्न सक्ने हुन्छन्। त्यसैले छाउपडी महिलाहरु सर्पदंशबाट अकालमा ज्यान गुमाइरहेका छन् दीर्घ रोगी बनिरहेका छन्। छाउगोठ भित्र निसास्सिएर गला घोटेर प्राण त्यागि रहेका छन्, बलात्कृत भईरहेका छन्।

उनीहरूले सम्मानपूर्वक बाँच्न पाउने हक को आफूजस्तै बलात्कृत हुनुपरेको अवस्थालाई टुलुटुलु हेर्नुपरेको छ। यस्तो अवस्थामा यहाँ छाउगोठ भत्काइँदै छन् वर्षौ देखि तर छाउपडी प्रथा जस्ताको तस्तै छ, अटल छ। यहाँ छाउगोठ को भौतिक आधारहरू माथि आक्रमण गरिदैछ जसले गर्दा छाउपडी अझै दर्दनाक, अमानवीय, अकल्पनीय पीडा बेहोर्दै छन् किनकि उनी अब छाउगोठको सहायताबाट खुल्ला आकाशको भरोसामा उत्रिएका छन्।यधपि वर्षौ देखिको छाउगोठ भत्काइने नित्यकर्म आजसम्म चलिरहेको छ तर छाउगोठको अन्तय खोज्न लागि परिएको छैन।


महिनावारी भएको समयमा घरमा छाइछुइ नगर्नु,घर भित्र नपस्नु, घर भित्रको काम नगर्नु,जस्ता अमानवीय व्यवहार गरीन्छ। यदि महिनावारी भएको समयमा घर परिवारमा छाइछुइ व्यवहार गरेमा घरमा अनिष्ट हुन्छ देबी देवताहरूक रिसाउछन, पाप लाग्छ भन्ने जस्ता रुढीवादी र अन्धविश्वास बाट देशको अन्य स्थान भन्दा बढी ग्रसित सुदूरपश्चिम नै छ। महिलाहरु लाई छुट्टै छाउगोठमा राख्ने र उक्त समयमा बढी विभेदपूर्ण व्यवहार गर्ने सुदूरपश्चिममा भएता पनि कुनै न कुनै हिसाबले महिनावारीको समयमा कुनै न कुनै विभेद गर्ने चलन भने प्राय नेपाल भरिनै पाइन्छ।


विगत एक दशकभन्दा बढी भयो यस प्रथाका विरुद्धमा सरकारी तथा सामाजिक संस्थाबाट वकालत गर्न लागेको जस्को फलस्वरूप ५० प्रतिशत परिवर्तन पनि भएको छ। छाउपडी प्रथाका कारण महिल तथा बालबालिका विरूद्ध हुने भेदभावपूर्ण व्यवहार, महिला विरुद्धको हिंसा र निजहरूको स्वास्थ्यमा समेत गम्भिर असर पर्ने भएकाले यस्तो कुप्रथाको उन्मूलन गरी समतामूलक समाजको स्थापना गर्ने उद्देश्यले सर्वोच्च अदालतको मिति २०६२ वैशाख १९ गतेको आदेशानुसार नेपाल सरकारले “छाउपडि प्रथा उन्मूलन निर्देिशका २०६४” जारि गरेको छ। छाउपडी प्रथा उन्मूलनका लागि नेपाल सरकारले तत्कालिन र दिर्घकालिन कार्यक्रम लागू गर्ने निर्देशका उल्लेख गरेको छ।

निर्देशका जारी भएको एक दशक बिती सक्दा पनि निर्देशका प्रभावकारी हुन सकेन छाउगोठमा अहिले सम्म कति महिलाहरुको मृत्यु भइसकेको छ। यसरी मृत्यु भएका परिवारका सदस्य पनि पुन गोठमा जाने क्रम रोकिएको छैन। कारण एउटै मात्र देउता रिसाउँछन् गोठमा मृत्यु भएका महिलाहरूलाई पनि छाउको समयमा लस पस गरे अनि देउताका कारणले मृत्यु भएको हो भन्ने गलत बुझाइ र मान्यताका कारण पनि यो प्रथा सजिलै हटन नसकेको अवस्था छ। महिनावारी हुँदा घरभित्र बस्न सुरु गरेका कतिपय महिलाहरु परिवारको सदस्य बिरामी पर्दा मेरै कारणले होकि भनि पुनः छाउगोठमा जाने गरेको पाइएको छ। यो प्रथाले यसरी जरा गाडेको छ । एउटा शिक्षिका महिला महिनावारी भएको बेला विधालय पढाउन जादैनन् बरू जागिर छोड्न तयार हून्छ भन्ने अभिव्यक्तिले कति सम्म जरा गाडेको छ भन्ने कुरा सजिलै अनुमान गर्न सकिन्छ।
मुलुकि अपराध संहिता २०७४ मा रजश्वला वा सुत्केरी भएकी महिलालाई छाउगोठमा राख्न नपाइने व्यवस्था गरिएको छ। संहिताको दफा १६८ को उपदफा ३ मा उल्लेख छ, महिनावारी र सुत्केरी अवस्थामा महिलालाई कुनै किसिमको भेदभाव गर्नु हुँदैन, उपदफा ४ मा यस्तो किसिमको भेदभाव गर्ने
गर्नेलाई तीन महिना कैद र तीन हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।

उपदफा ५ अनुसार महिनावारी र सुत्केरी भएकी महिलालाई गोठमा पढाउने वा छुवाछुत गर्ने गराउने व्यक्तिलाई थप तीन महिना कैद हुनेछ।वर्षौ देखि जरा गाडेर सामाजिक कानुनको रूपमा स्थापित यो प्रथा अन्त्यको लागि जुन कानुन आएको छ त्यो अति नै स्वागत योग्य रहेको छ। यो कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्छ। सुदूरपश्चिम र मध्यपश्चिममा छाउपडी प्रथा मुख्य समस्याका रुपमा रहदै आएको छ। महिनावारी हुँदा होस् या सुत्केरी छाउगोठमा बसेका बेला बर्सेनि धेरै किसोरी तथा महिलाले ज्यान गुमाउने गरेका छन्। यहि कुप्रथा हटाउने नाममा सरकारी , गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्थाले ठूलो परिमाणमा बजेट खर्च गरिरहेका छन्। यधपि, कतिपय ठाउँमा महिलाले नै यो प्रथालाई अगाडि बढाउनु पर्छ भनेर नयाँ पुस्तालाई बार्नुपर्ने दबाब दिइरहेका छन्।


कतिपय ठाउँमा त गाउका अगुवा मानिने धामि झाक्री लगायत व्यक्तिले नै यसको यसको समर्थन गरिरहेको पाइन्छ। हुन त राजधानी लगायत मुलुकका अन्य ठाउँमा पनि अनेक रूपमा छाउ बार्ने प्रथा रहेकै देखिन्छ।शिक्षित र सम्पन्न सहरिया वर्गमा पनि महिनावारी हुँदा त्यो छुनु हुँदैन, यो छुनु हुँदैन भनेर बार्ने गरेको छयापछप्ती भेटिन्छन्। यसकारण देशभर नै जरा गाडेर बसेको यो कुप्रथा विरुद्ध जनचेतना नफैलायसम्म यसबारे स्पष्ट नीति नबनेसम्म महिनावारीका बेला बार्ने चलनमा कमी आउन सक्दैन।

महिनावारी वा नछुने हुनु कुनै अपराध होइन न त यो भगवानको श्राप नै हो। यो त प्रकृतिको नियम हो। किशोरावस्थामा प्रवेश गरेकि महिलाहरुमा जब मासिक श्राव सुरु हुन्छ ,तब उसलाई सन्तान जन्माउन सक्षम ‌भएकी मानिन्छ। मासिक श्राव पाठेघरको कार्य हो जस्लाई अण्डासयको क्रियाकलापले प्रभावित गरिरहेको हुन्छ। पाठेघरभित्र रहेका रक्त तथा अन्य ग्रन्थि श्रावहरू अण्ड निषेचित नभएको अवस्थामा शरिर बाहिर उत्सर्जित हुने गर्दछ। यसैलाई मासिक श्राव वा महिनावारी भएको भनिन्छ।


तर हाम्रो समाजमा यसलाई नछुने भएको भन्निछ। यो अन्यायपूर्ण र विभेदपूर्ण भाषा हो। महिनावारी भएको ४ दिन सम्म अलग बस्ने कसैसँग नछुने र ४ दिन पछि नुवाई धुवाई गरेर गाईको गहुँत वा सुनपानी चाखेर सुद्ब हुने अगुवा महिलाहरु हाम्रो सुदूर पश्चिममा प्रशस्त रहेका छन्। भाषण गर्दा छाउपडी प्रथा अन्त्य हुनुपर्छ भन्छन् तर आफू वा आफ्नो परिवारका महिला महिनावारी भए टाढै बस्न लगाउछन्।


महिनावारी भएका बेला अलग नबसेमा कुल देवता, ईष्ट देवता रिसाउँछन्। देवी देवताले श्राप दिन्छन् अनि हामी बिरामी हुन्छौ। हामिलाई अनेक रोग लाग्न सक्छ। हाम्रो भौतिक एवं मानवीय क्षति हुन सक्छ। हामीमा बाँझोपन आउन सक्छ भन्ने डरका कारण अझै पनि त्यही संस्कारलाई मान्न बाध्य भएका छन् उनीहरूलाई बाहिरी रुपमा हेर्दा न त समाजको दबाब रहेको छ ,न त घर परिवारको दबाब छ त केवल सामन्ती सोचको , परम्परागत संस्कार को देवी देवताको डरको तर कुनै महिलाहरू भने यस्तो अपराध पूर्ण प्रथाको अन्त्य गर्न चाहन्छन तर पनि समाज र घर परिवारको डरले यस्तो गर्न सक्दैनन्। मासिक श्राव भएको बेला शारीरिक सम्बन्ध नराख्नु राम्रो कुरा हो किनभने त्यसबेला शारीरिक सम्बन्ध राख्नाले एक त यौन रोगहरू हुने सम्भावना हुन्छ भने अर्को महिलाको यौन अङ्गमा घाउ हुने सम्भावना बढी रहन्छ। यो वैज्ञानिक रूपले पुष्टि भएको कुरा हो। तर मासिक श्रावलाई नछुनेको संज्ञा दिएर छुनै नहुने घर भित्र प्रवेश गर्नै नहुने, आफूभन्दा ठूलासंग बोल्नै नहुने कुराहरु सरासर गलत हुन। यस्ता कुराले स्वयम महिलाहरु लाई नै सधैंभरि हारेर बस्नुपर्ने अवस्था ल्याउछ।

 राज्यले बल प्रयोग गरेर भए पनि यो कानुनको कार्यान्वयन गर्ने तर्फ लाग्यो भने हजारौं महिला तथा बालबालिका हरुको मानव अधिकारको संरक्षण हुनेछ। एउटा अबोध बच्चा छाउपडी प्रथाको सिकार हुने छैन। आजको २१ औ शताब्दीमा पनि यस्ता खाले विभेद रहि  रहनु भनेको लाजास्पद विषय हो। ढिलो भएपनि यस प्रथालाई सम्बोधन गरि कानुन आएको हो। जस्ले यस्ता अमानवीय कार्य उसलाई कडा कानुनी कारवाही गरिनुपर्छ। यस्ता खाले विभेद रहे सम्म राष्ट्रको दिगो विकास हुन सक्दैन।

       त्यसकारण महिला मुक्तिको आन्दोलन गर्ने नारी वा पुरुषले आजैदेखि आफूले आफैलाई सुधार गर्दै लानुपर्ने हुन्छ। छाउपडी प्रथा जो तत्कालीन सामन्तवादी सोच भएका शासक वर्गहरूले चलाएका छन् त्यसको अन्तय गरिनुपर्छ। यसका लागि महिलाको भलो चाहने पुरुषहरूले पनि सहयोग गर्नुपर्ने देखिन्छ। छाउपडी प्रथा समाजमा व्याप्त अन्धविश्वाससंग सम्बन्धीत छ। संसारमा प्रचलित इसाई, इस्लाम, बौद्ध, यहुदी र हिन्दू धर्म,समाज र संस्कृतिमा महिनावारी सम्बन्धि विभिन्न मान्यता र कुरीतिहरू रहेका छन्। मानवीय तथा सामाजिक विकासको स्तर अग्रस्थानमा भएका समाजमा महिनावारी सम्बन्धि कुरूतिहरू नरहेका वा क्रमिक रूपमा हट्दै गएका र सामाजिक विकासको गति धिमा भएका र विकासमा  पछि परेका समाजमा महिनावारी सम्बन्धि अझै पनि रहिरहेकाले महिला वर्ग यस्को शिकार भइरहेका छन्। नेपालको पूर्वी क्षेत्र र सहरी इलाकामा महिनावारी सम्बन्धि कुरीति कम हुनु र कर्णाली तथा सुदुर पश्चिम क्षेत्रमा महिनावारी सम्बन्धि कुरीति बढी हुनु यसको ज्वालन्त उदाहरण हो।
टिप्पणी
टिप्पणी दिनको लागि लगइन् गर्नुहोस्।
हाम्रो बारेमा
करियर
सम्पर्क
समाचार/लेख पठाउनुहोस्

न्यायपालिका

कानून सम्बन्धी सम्पूर्ण खुराक एकैठाउँ