गृहपृष्ठसंविधानसंसदसमाजस्तम्भसुरक्षासंसारसंवादसमिक्षासर्वोच्च अदालतसम्पादकीयEnglish

यौन दुर्व्यवहारसम्बन्धी केही कानूनको चर्चा

प्रत्यक्ष या विद्युतीय माध्यमबाट मौखिक, लिखित वा साङ्केतिक रूपमा अश्लील प्रकारका शब्द प्रयोग गर्ने गर्छ?
न्यायपालिका
२०७७-०७-२१

पति वा पत्नि बाहेक, के तपाईंलाई कसैले तपाईंको अनुमति बेगर संवेदनशील अङ्गमा हात लैजान्छ? के तपाईंको इच्छा विपरित तपाईंलाई असहज महसुस हुने गरि कसैले अंगालो हाल्छ? प्रत्यक्ष या विद्युतीय माध्यमबाट मौखिक, लिखित वा साङ्केतिक रूपमा अश्लील प्रकारका शब्द प्रयोग गर्ने गर्छ? यदि यस्तो भैरहेको छ भने तपाईं यौन दुर्व्यवहारको शिकार भैरहनुभएको छ। र यसको समाधान यसलाई व्यवास्ता गरेर होइन, तपाईंलाई कानुनी उपचार र सहयोगको खाँचो छ।
अहिलेको पुस्ता बलात्कार विरुद्ध खुलेर बोलेको र जानकार हुँदैगएको देख्दा साँच्चै राहत महसुस हुन्छ तर अझै पनि आधीउधी बलात्कारका घट्ना घरमै दबाउने र समाजमै मिलाउने मिलापलयहरूको पनि कमि छैन जसका कारण कुरा न्यायलयसम्म पुग्नै सकेका छैनन्।


हो ! त्यस्तै सजिलै बाहिर नल्याइने अपराध हो ‘यौन दुर्व्यवहार’। कतिपय यौन दुर्व्यवहार “ह्या यतिको लागि के बोल्ने” भनेर सार्वजनिक गाडी भित्रै सिमित रहन्छन भने कतिपय यौन दुर्व्यवहार “कसैलाई भनिहाले भने फेल गराइदिन्छन कि” भनेर त्यो सुनसान कक्षा कोठामा रहेका बेन्च,बोर्ड र बन्द झ्याल ढोका मै टुङ्गिन्छन। अनि कतिपय अवस्थामा त आफू माथि के भैरहेको छ भन्ने थाहानै नपाई दबिएर जान्छन। यौन दुर्व्यवहार पिडितको लागि यस्तो गार्हो अवस्था हो कि देखाउनलाई ऊ संग शारिरिक घाउ हुँदैन तर ऊ माथि नियमित निकै गलत र घिनलाग्दो ब्यवहार भैरहेको हुन्छ जसले उसलाई मानसिक रूपमा एकदम कठिन अवस्थामा पुर्याइसकेको हुन्छ।

र यो बारे जानकार रहेका ब्यक्ति यदि पिडामा परे भने पनि यो कुरा बाहिर ल्याउने कि नल्याउने भनेर अन्योलमा पर्दापर्दै हदम्याद सकिने अवस्था छ।अझ धेरै जसोमा त यौन हिंसा भनेको बलात्कार मात्र हो भन्ने साघुरो बुझाई छ। जसको परिणाम स्वरुप यौन दुर्व्यवहारमा परिरहेकालाई आफूमाथि मानवीय र नैतिक हिसावमा मात्र होइन कानुनी रूपमा पनि गलत भैरहेको छ र कानुनको ढोका ढक्कढकाए मैले पनि यो बाट छुट्कारा पाउँछु भन्ने सम्म थाहा छैन।


यौन दुर्व्यवहारमा केवल महिला मात्र होइन पुरूष र पुरूषमा पनि किशोरावस्थाका पुरूष बढी पिडामा छन् भने तेस्रो लिङ्गीहरू पनि यसको उतिकै शिकार हुनेगरेका छन। सामान्य रूपमा यौन दुर्व्यवहार भन्नाले करणीको आशयले गरिने जबर्जस्तीपूर्ण व्यवहार भनेर बुझिन्छ। पति पत्नी बाहेक अन्य कुनै व्यक्तिले करणीको आशय राखी जवर्जस्ती गर्छ भने त्यो यौन दुर्व्यवहार हुन्छ।यौन दुर्व्यवहारलाई कसुरका भनि, यौन दुर्व्यवहार गर्न नहुने भनि मुलुकी अपराध संहिताको दफा 224 ले ब्याख्या गरेको छ ।

यस दफाको उपदफा 2 अनुसार कसैले आफ्नो पता वा पत्नि बाहेक अन्य व्यक्तिलाई निजको मञ्जुरी विना करणीका आशयले समातेमा वा निजको संवेदनशील अङ्ग छोएमा वा छुने प्रयास गरेमा, निजको भित्री पोशाक खोलेमा वा खोल्ने प्रयास गरेमा, निजलाई अस्वभाविक रूपमा कुनै एकान्त ठाउँमा लगेमा, यौन सम्बन्धी आफ्नो अङ्ग निजलाई छुन, समाउन लगाएमा, निजसंग अश्लील वा अन्य त्यस्तै प्रकारको शब्द मौखिक,लिखित वा साङ्केतिक रूपमा वा विधुतिय माध्यमबाट प्रयोग गरेमा, अश्लील चित्र वा तस्विर देखाएमा,यौनका आशयले अस्वभाविक, अवाञ्छित वा अमर्यादित व्यवहार गरेमा निजले यौन दुर्व्यवहार गरेको मानिनेछ भनेर प्रष्ट पारिएको छ। र यस्तो कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था समेत संहिताले गरेको छ।

र यी यस्ता यौन दुर्व्यवहार यदी अठार बर्ष मुनिका बालबालिका माथि हुन्छ भने त्यो बाल यौन दुर्व्यवहार हुनजान्छ । बालबालिका माथि हुनेगरेको बाल दुर्व्यवहार जस्तो घृणित कार्यले बालबालिकाको शारीरिक, मानसिक र भावनात्मक विकासमा आघात पुर्याउने गर्छ । अझ बाल यौन दुर्व्यवहार त सबैभन्दा घातक र पिडादायी हुनेगरेको छ।


नेपाल प्रहरीको गत दुई आर्थिक बर्षको तथ्याङ्क अनुसार नेपालमा हरेक बर्ष १७३६ बालबालिका यौन दुर्व्यवहारको शिकार हुनेगरेका छन्। जसमध्ये 99% दुर्व्यवहार बालिका माथि हुने गरेको छ। हुन त दुर्व्यवहार जोसुकैबाट जहाँसुकै पनि हुनसक्छ तर बालबालिका माथि हुनेगरेका यौन दुर्व्यवहारका घट्नामा 87% घट्ना नजिकको आफन्त वा चिनेको मानिसबाट हुनेगरेको छ। बाल यौन दुर्व्यवहार लाई न्यूनीकरण गर्न यसबारे बालबालिका सम्बन्धी ऐन 2075 मा यसको उल्लेख गरिएको छ।


बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६ मा उल्लेखित बालबालिका विरूद्धको कसूर को उपदफा ३ ले, यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गर्ने, फकाउने, दबाब दिने वा धम्काउने, बाल यौन शोषण गर्ने वा गराउने ,अश्लील कार्य तथा सामाग्री निर्माणमा प्रयोग गर्ने आदी उल्लेखित व्यवहारलाई बाल यौन दुर्व्यवहार मानिने भनेर प्रष्ट पारेको छ।

बालबालिकाको चौतर्फी बिकासमा पहिलो भुमिका घरपरिवारको हुने भएकाले उनीहरु के सोच्दैछन, उनीहरु माथि कस्तो व्यवहार भैरहेको छ भन्ने कुरामा अभिभावकले बिशेष चासो राख्न जरुरी हुन्छ ।यसका साथै बालबालिका सँग, हुन सक्ने दुर्व्यवहारका बारेमा अभिभावक ले खुलेर कुरा गर्न , बुझाउन र प्रतिकार गर्न सिकाउन पनि उतिकै आवश्यक छ।


दुर्व्यवहार बारे बुझेका व्यक्तिले त अझै कसैसँग साट्न अफ्ठ्यारो मान्छन भने झन बालबालिकालाई आफूमाथि के भैरहेकोछ भन्ने नै थाहा नहुने भएकाले बालबालिकाको व्यवहारमा देखापरेको परिवर्तनलाई बुझ्ने प्रयास गर्न पर्छ ।यौन दुर्व्यवहारले बालबालिकाको कोमल मन र मष्तिस्कमा दिर्घकालिन नकारात्मक असर पार्ने भएकाले विध्यालयमा ‘गुड टच र ब्याड टच’ बारे चेतना बढाउन झन आवश्यक छ।अझ कतिपय अवस्थामा परिवारकै कुनै सदस्यबाट यस्तो यौन दुर्व्यवहारमा पर्ने भएकाले पिडितलाई सहज बनाउन सरकार तथा विभिन्न संस्थाले प्रदान गर्ने ‘हटलाइन नम्बरहरू ‘ बारे पनि बालबालिका लगायत सबैलाई सचेत पार्न आवश्यक छ।


र बढी बलात्कार परिवारका सदस्य वा आफन्तबाट हुनेगरेको र बलात्कार गर्नु अघि पिडकले विभिन्न तरिकाले यौन दुर्व्यवहार गर्ने सम्भावना भएकाले यदि यौन दुर्व्यवहारमा पर्ना साथै त्यसको विरुद्ध यदि बोल्यौं र पिडकको अघि सशक्त ढङ्गले पेश आएर कानुनी प्रकियामा अघि बढ्यौं भने केही हदसम्म बलात्कार सम्म कुरा पुग्न पाउँदैन की!!

मुख्य शब्द:
nyayapalika.com
Puspa Neupane
टिप्पणी
टिप्पणी दिनको लागि लगइन् गर्नुहोस्।
हाम्रो बारेमा
करियर
सम्पर्क
समाचार/लेख पठाउनुहोस्

न्यायपालिका

कानून सम्बन्धी सम्पूर्ण खुराक एकैठाउँ