गृहपृष्ठसंविधानसंसदसमाजस्तम्भसुरक्षासंसारसंवादसमिक्षासर्वोच्च अदालतसम्पादकीयEnglish

बलात्कारमा ‘इज्जत’ पीडितको जाने की अपराधीको ?

बलात्कार भएपछी पिडितको इज्जत जाने होईन अपराध गर्नेको इज्जत जानुपर्छ र त्यसका लागि अपराधी लाई सामाजिक बहिष्कार गर्नुपर्छ ।
न्यायपालिका
२०७७-०६-१७

Chandika Timalsina ‘Satyaa’

बलात्कार तथा यौनजन्य हिंसाका घटनामा पिडितलाई हेर्ने समाजको दृष्टिकोण परिवर्तन गर्न जरुरि छ । बलात्कार एउटा अमानवीय र क्रूर अपराध हो ।बलात्कार तथा यौनजन्य हिंसाका घटनामा प्रायजसो महिलाहरू नै पिडित हुने गरेको पाईन्छ । पछिल्लो समय शृङ्खलाबद्ध रुपमा बढेका बलात्कार का घटनामा धेरै जसो बालिकाहरु पिडित भएको पाईएको छ ।

त्यसो त सतहमा आएका घटनालाई मात्र हामी बढी चासो दिन्छौँ तर त्यस्ता धेरै घटना हुन्छन् जो परिवार को इज्जत र समाजको डरले प्रहरी चौकी सम्म पुग्न सकेका हुँदैनन् । किनकी पिडित/बलात्कृत लाई हेर्ने हाम्रो सामाजिक दृष्टिकोण संकुचित र गलत छ ।

बलात्कार हुनु भनेको महिलाको इज्जत/अस्मिता लुटिनु हो भन्ने बुझाई छ र त्यो सरासर गलत हो किनकी कुनैपनि महिलाको इज्जत उसको यौनाङ्ग मा मात्र सिमित हुँदैन र बलात्कार भनेको महिलाको ईज्जत् लुटिनु होइन उसको शारीरिक स्वायत्तता माथी आक्रमण हुँनु हो जसले गर्दा पिडित लाई शारीरिक पीडा तथा मानसिक आघात पुग्छ ।

-बलात्कार तथा यौनजन्य हिंसा बढ्नुको कारण के हुन सक्छ?
कुनैपनी मानिस जन्मिदै अपराधी भएर जन्मिएको हुँदैन ,ब्यक्तिमा अपराधीक मानसिकताको बिकास उ जन्मेको परिवारको पृष्ठभुमि,पारिवारिक संस्कार,उ बसेको समाज र उसले प्राप्त गरेको शिक्षाले निर्धारण गर्छ । र साथसाथै समाजमा अपराधी लाई हेर्ने दृष्टिकोण कस्तो छ देशको न्यायिक संयन्त्र कति बलियो छ भन्ने कुराले नि अपराधीक मानसिकता बिकास हुने नहुने कुरालाई प्रभाव पार्छ ।

अपराध कम गर्न तथा अपराधी लाई दण्ड दिनको लागि सर्वप्रथम त देशको न्यायिक संयन्त्र नै बलियो हुन जरुरी छ र पदमा भएका ब्यक्तिहरुले आफ्नो पदीय हैसियतलाई अपराध को विरुद्धमा प्रयोग गर्नुपर्छ तर हामिकहाँ यस्तो छैन,अपराधी यदि ठुला पदमा भएका ब्यक्ति को नातागोता पर्छ भने अथवा अपराधी ब्यक्ति राजनितिक दल सङ्ग आबद्ध छ भने उसलाई राजनितिक कवच लगाएर बचाउँने,उन्मुक्ति दिने संस्कारको बिकास भएको छ । तथा अपराधी ले राजनितिक आडमा पिडितलाई दबाब धम्की दिने लगायतका घटना पनि बढ्दो छन् ।

र अर्कोतिर अहिलेका युवापुस्ता जो ईन्टरनेट को पहुँच बाट टाढा छैनन्, हरेक ब्यक्ती सङ्ग मोबाईल हुन्छ नै र ईन्टरनेट,सामाजिक संजाल मार्फत उच्छृंखल भिडियो हेर्ने र वास्तविक जिवनमा पनि त्यस्तै कल्पना गर्ने त्यसैतर्फ आकर्षित हुने र कुलतमा फस्ने युवा जमात धेरै छन् ।

ब्यस्त जिवनशैलिमा अभिभावक ले आफ्ना सन्तानलाई पर्याप्त समय दिन नसक्दा टिन एज मा प्रवेश गरेका युवायुवती कुलतमा फस्छन् जसले गर्दा प्रविधिको दुरुपयोग गर्ने र अपराधीक क्रियाकलाप मा संलग्न हुने क्रम बढ्दो छ ।

-पोर्नोग्राफी र यौनजन्य हिंसा बिच अन्तरसम्बन्ध
पोर्नोग्राफी र यौनहिंसाबारे युनिभर्सिटी अफ क्यालिफोर्नियाका अनुसन्धानदाता ‘नेल मालामुथ ‘ ले गरेको अनुसन्धान अनुसार – जो सङ्ग पहिलेदेखी नै तिब्र यौनइच्छा छ र उ सेक्सका लागि जस्तोसुकै कदम उठाउन तयार तयार हुन्छ,त्यस्ता ब्यक्तिले पोर्नोग्राफी हेरे भने यौनजन्य अपराध गर्ने संभावना बढी हुन्छ । यसबाट हामिले के बुझ्न सक्छौ भने पोर्नोग्राफी को कारण पनि यौनजन्य हिंसा बढ्न सक्छ । त्यसैले टिन एजमा पुगेका युवायुवतीहरु लाई यौनशिक्षा बारे बुझाउन जरुरी छ ।

-अशिक्षा नै बलात्कार तथा यौनजन्य हिंसा को कारण होत?
यौनजन्य हिंसाको कारण अशिक्षा पनि हुनसक्छ तर अशिक्षा मात्र यौनजन्य हिंसाको कारण भने होइन । किनभने धेरै पढेका विद्वान मानिएका र पदमा पुगेका ब्यक्तिहरु पनि यौनजन्य हिंसामा संलग्न भएको समाचार हामिले सुनिरहेका छौँ । जस्तै : कार्यालय मा हुने यौनजन्य हिंसा,जसमा माथिल्लो तहको ब्यक्तिले आफू भन्दा सानो पदका महिला कर्मचारी माथी यौनजन्य हिंसा गरेको सुनेका छौँ,त्यस्तै शिक्षकले आफ्नो बिद्यार्थी माथी गर्न खोज्ने यौनहिंसा ! यस्ता घटनाले के देखाउँछ भने शिक्षित र पदमा बसेका ब्यक्तिहरु पनि यौनजन्य हिंसामा संलग्न भएका हुन्छन् ।

– बलात्कार तथा यौनजन्य हिंसा कम गर्न वा हिंसा हुनै नदिन के गर्न सकिन्छ?हाम्रो सामाजिक दायित्व के के हुन् ?
बलात्कार तथा यौनजन्य हिंसा कम गर्न वा हिंसा हुनै नदिनका लागि सर्वप्रथम त देशको न्यायीक संयन्त्र बलियो र प्रभावकारी हुन जरुरी छ। हाम्रो देशमा बलात्कार सम्बन्धि कानुन मजबुत छ तर कार्यान्वयन मा फितलो छ न्याय दिनमा ढिलासुस्ती छ यसलाई सुधार गर्नुपर्छ । र बलात्कृत लाई हेर्ने हाम्रो सामाजिक दृष्टिकोण परिवर्तन गर्न अत्यन्तै जरुरी छ । पिडितको सामाजिक सुरक्षा बारे बहस हुन जरुरी छ । पिडितलाई समाजमा पुनस्र्थापना गर्ने,पिडितको स्वास्थ्य सुरक्षा तथा उसको आउँदो भविष्य मा त्यो घटनाले कुनै असर नपर्ने खालको अवस्था सिर्जना गर्नुपर्छ । जसले गर्दा उसले आत्मबिश्वासका साथ आफ्नो जीवन जिउन सकोस् कुनै अपराधी ले गरेको घृणित अपराध को बोझले उसको भविष्य मा असर नगरोस् ।

बलात्कार भएपछी पिडितको इज्जत जाने होईन अपराध गर्नेको इज्जत जानुपर्छ र त्यसका लागि अपराधी लाई सामाजिक बहिष्कार गर्ने, कानुनको जिम्मा लगाउँने,अपराधी लाई उन्मुक्ति दिन खोज्ने जो कोहिलाई कानुनको दायरामा ल्याउँनुपर्छ । बलात्कार भनेको पिडित र पिडक बिचको मात्र कुरा होइन यो एक क्रूर अपराध हो र सामाजका निमित्त एउटा रोग हो र यसलाई निरुपण गर्न समाजका हरेक ब्यक्तिले आफ्नो आफ्नो स्थानबाट प्रभावकारी भुमिका निभाउनुपर्छ जसले गर्दा यौनजन्य हिंसा भोगेका सयौ पिडितहरुले आफू माथी भएको हिंसाको बारेमा बताउन सक्छन् र यस्ता घटना निरुपण गर्न मद्दत पुग्छ ।

(लेखिका चण्डिका तिमल्सिना ‘सत्या’ विभिन्न सामाजिक राजनीतिक विषयहरुमा लेख्ने गर्दछिन् । तपाईँको पनि कुनै विचार या टिप्पणी छ भने nyayapalika@gmail.com मा लेखि पठाउनुहोला।)

टिप्पणी
टिप्पणी दिनको लागि लगइन् गर्नुहोस्।
हाम्रो बारेमा
करियर
सम्पर्क
समाचार/लेख पठाउनुहोस्

न्यायपालिका

कानून सम्बन्धी सम्पूर्ण खुराक एकैठाउँ