गृहपृष्ठसंविधानसंसदसमाजस्तम्भसुरक्षासंसारसंवादसमिक्षासर्वोच्च अदालतसम्पादकीयEnglish

गर्भपतनः कहिले कानूनी, कहिले गैरकानूनी ?

गर्भपतन नगराएमा महिलाको ज्यान खतरामा पर्न सक्ने अवस्थामा पनि महिलाको मञ्जुरी लिएर गर्भपतन गराउन सकिन्छ।
न्यायपालिका
२०७७-०५-२५

नेपालमा गर्भपतन कानून

नेपालमा सन् १९९६ मा एक लाख जनामा ५३९ रहेको मातृ मृत्यु दर घटेर सन् २०१६ मा २३५ पुग्यो । बिस बर्षको अन्तरालमा यो धेरैलाई सानो सुधार लाग्ला तर निकै भौगोलिक जटिलता अनि ग्रामीण भेगमा राम्रो अस्पतालको अभाव भएको हाम्रो देशमा यति समयमा यतिको सुधार गर्नु निकै चुनौतिपूर्ण थियो भन्ने कुरामा दुइमत नहोला। मातृ मृत्यु दर यसरी घट्नुको पछाडि सरकारको स्वास्थ्य निती देखी अन्य थुप्रै कारणहरु छन् तर मृत मृत्यु दर घट्नुको एउटा मुख्य श्रेय सुरक्षित गर्भपतनलाई जान्छ । सन् २००२ सम्म मातृ मृत्यु दर उच्च रहने गरेकामा सन् २००२ मा गर्भपतनलाई वैधानिकता दिएसँगै यो दर घटेको हो।


सामान्य बुझाईमा बच्चा जन्माउँदा, बच्चा बाच्न सक्ने अवस्था भन्दा अगाडि नै गर्भलाई अन्त्य गर्नुलाई गर्भपतन भनिन्छ।र यदि यस्तो प्रक्रिया कानुनी प्रावधान पुर्याएर गरिन्छ भने त्यसलाई सुरक्षित गर्भपतन भनिन्छ ।गैरकानुनी सम्बन्धबाट रहन गएको गर्भ असुरक्षित रूपमा पतन गर्ने गरेका एकदुईवटा अपवादले गर्दा गर्भपतन प्रति समाजमा एक किसिमको गलत बुझाई पनि उत्तिकै पाउन सकिन्छ । एउटा संसारै नदेखेको शरिरलाई मार्नु मात्र सधैँ गर्भपतन होइन कहिले काँही एउटा जिउँदो शरिरलाई मृत्युको मुखबाट बचाउनु पनि गर्भपतनको उद्देश्य हुन्छ । ‘गर्भपतन’ गैरकानूनी,गलत र हानिकारक भएपनि “सुरक्षित गर्भपतन” भने कानुनी र कम जोखिमपूर्ण हुनेगर्छ ।यदि गर्भपतन पुरै गलत कार्य हुन्थ्यो भने यसले यसरी कानुनी रूपमा समर्थन पक्कै पाउँदैनथ्यो। जति जति प्रसुतिमा कठिनाई भएर मातृ मृत्यु दर बढ्न थाल्यो उति उति समाजमा सुरक्षित गर्भपतनको आवश्यकता कानुनीरुपबाट महसुस गर्न थालियो।गर्भको बच्चा या आमाको स्वास्थ्य समस्याका कारण ,पछि प्रसुति हुन निकै जटिल हुन्छ भन्ने थाहा हुँदा हुँदै पनि कानुनीरूपमा अनुमति नभएकै कारण कति गर्भवतीले ज्यान गुमाउनु परेको तिता यथार्थ छँदै थियो।यी यस्तै समस्यालाई मध्यनजर गर्दै निश्चित अवस्था तोकेर गर्भपतनलाई मान्यता प्रदान गरिएको हो।


तर सुरक्षित गर्भपतनले वैधानिकता पाउनु भनेको केवल दक्ष चिकित्सक या अस्पतालद्वारा गर्भपतन गर्नु हो भनेर मात्र बुझ्नु भने हुँदैन।सुरक्षित गर्भपतन भित्र स्वास्थ्य र कानुनी प्रावधान पुर्याएर गरिने हो भनेर बुझ्नु आवश्यक हुन्छ ।
तर गर्भपतन गर्न अनुमति छ भन्दैमा,गर्भमा रहेको भ्रुणको लिङ्ग पहिचान हुने काम गरि गर्भपतन गर्न गराउन हुँदैन । र त्यसैगरि गर्भवति महिलालाई करकाप गरी वा धम्की दिई गर्भपतन गराउन हुन्न। यी यस्ता तुच्छ हरकत अमानवीय हुनुको साथै ‘मुलुकी अपराध संहिताको’ दफा १८८ बमोजिम गैरकानुनी कार्य समेत हो।


गर्भपतन गराउन सक्ने अवस्थाहरु !!


कानुनले तोकेको गर्भपतन गर्न पाउने अवस्थाहरू केवल कानुनी अवस्थ मात्र नभएर नेपालमा हुनेगरेका धेरै जसो गर्भपतनका कारण पनि हुन् ।जसमध्य यदि गर्भवती महिलाको मञ्जुरी छ भने बाह्र हप्तासम्मको गर्भपतन गराउन सक्ने कानुनी व्यवस्था रहेको छ।जो महिलाका पहिल्यै धेरै सन्तान हुँदाहुँदै गल्तीले गर्भ रहन गएका।, अथवा सुत्केरी अवस्था हो भनेर परिवार नियोजनका साधनहरूको प्रयोग नगर्दा रहेको गर्भलाई पतन गर्न जस्ता अवस्थामा यो प्रावधानको बढी प्रयोग हुने अवस्थाहरू हुन्। त्यसैगरि गर्भपतन नगराएमा महिलाको ज्यान खतरामा पर्न सक्ने अवस्थामा पनि महिलाको मञ्जुरी लिएर गर्भपतन गराउन सकिन्छ।जवर्जस्ती करणी वा हाडनाता करणीबाट रहन गएको अठार हप्तासम्मको गर्भ महिलाको मञ्जुरीमा पतन गर्न सकिन्छ।


एउटै महिलाले प्रावधान पुर्याएर पटकपटक गरिएको गर्भपतन कानुनी त होला तर त्यो शशिरको लागि कति हानिकारक छ भन्ने कुरा चाहिँ भुल्न हुँदैन । सरकारबाट सुरक्षित गर्भपतनका लागि निसुल्क स्वास्थ्य र पुर्ण कानुनी संयन्त्र हुदाहुँदै आज पनि लुकिछिपी, गैरकानुनी या दक्षता नभएका चिकित्सक एवम मेडिकलमा धेरै असुरक्षित गर्भपतन हुने गरेका छन् । समाजले के भन्ला भन्ने डर अनि यसको खतराको अज्ञानताले महिलालाई ज्यान जोखिम मा राखेर असुरक्षित गर्भपतन तिर धकेल्ने गरेको छ।

(लेखक पुष्पा न्यौपाने महिला र कानूनका विषयमा लेख्दै आएकि छिन् ।)

मुख्य शब्द:
Abortion Law
Puspa Neupane
गर्भपतन कानून
टिप्पणी
टिप्पणी दिनको लागि लगइन् गर्नुहोस्।
हाम्रो बारेमा
करियर
सम्पर्क
समाचार/लेख पठाउनुहोस्

न्यायपालिका

कानून सम्बन्धी सम्पूर्ण खुराक एकैठाउँ