गृहपृष्ठसंविधानसंसदसमाजस्तम्भसुरक्षासंसारसंवादसमिक्षासर्वोच्च अदालतसम्पादकीयEnglish

के युवा नेतृत्वमा नयाँ राजनीतिक सँस्कार छ ?

हाम्रो राजनितिक कुसंस्कारको अन्त्य गर्न जरुरी छ । जसले गर्दा सामान्य आय र पेशा भएका सभ्य इमानदार ब्यक्ति र युवाहरु राजनितिमा लाग्न सकुन् ।
न्यायपालिका
२०७७-०५-२०

चण्डिका तिमल्सिना

राजनीति लाई सम्पुर्ण नीतिहरुको नीति भनिन्छ । अर्थात्, राजनिती सबै नितिहरु मध्ये प्रमुख नीति हो । देश विकसित र समृद्ध बन्न, सुशासन कायम हुन देशमा राजनितीको गुण्सतरको ठूलो भुमिका हुन्छ । तर जब राजनीतिमा कुशल नेतृत्वको अभाव हुन्छ तब नागरिकले दु:ख पाउँछन् ।

देशमा अन्य कुरा राम्रो हुन देशको राजनीति सफा हुनु जरुरी हुन्छ । तर पछिल्लो अवस्थामा देशको राजनीतिको अवस्था दयनीय छ नातावाद र घुसखोरीमा रमाएका नेतृत्वहरुले नत जनताको दु:ख देखेका छन् नत जनमतको कदर नै गरेका छन् । राजनीतीलाई ब्यापार बनाईएको छ । फोहोरी खेल बनाईएको छ । नेता भन्नेबित्तिकै नागरिकको मनमा घृणा उत्पन्न हुने भएको छ युवा पुस्तामा राजनीति प्रती वितृष्णा छ । नागरिक आजित छन् । त्यसो त सरसर्ती हेर्दा देशमा तीन प्रकारको युवा जमात देखिन्छन् ।


एक नम्बरमा : त्यस्तो खालको युवा जमात छ, जो शिक्षित छन् तर उनिहरु आफ्नो देशमा आफ्नो भविष्य देख्दैनन कसैको नियत बस होला कसैको नियती होला तर अमेरिका, जापान, अष्ट्रेलिया जस्ता बिकसित मुलुकहरुमा उनीहरु आफ्नो भविष्य देख्छन् । देशको बिग्रेको राजनितीक अवस्था प्रती बेखबर हुन चाहन्छन् । उनिहरु सोच्दा हुन् कि देशको राजनीतिक अवस्थाले उनिहरुलाई कहिँ कतै छुदैन असर गर्दैन तर त्यस्तो होइन ।  देशको राजनितिक अवस्थाले हरेक ब्यक्तिलाई छुन्छ प्रभाव पार्छ, उनिहरुलाई प्रभाव नपारेपनी उनीहरुको आउँदो पुस्तालाई त अवश्य प्रभाव पार्छ ।


दोस्रो नम्बरमा : अर्को खालको युवा जमात छ जो देशमै केही गरिखान्छु भन्ने बिचारले बसेको हुन्छ । उनीहरु शिक्षित पनि हुन्छन् तर देशको राजनीतिक अवस्था देखि आजित भएर देशको अवस्था फेरिन राजनीति सफा हुनुपर्छ भन्ने बुझेर राजनितीमा होमिएका छन् ।


तेस्रो नम्बरमा : त्यस्ता युवा जमात छन् जो केही शिक्षित पनि छन् र राजनितीमा पनि लागेका छन् तर उनिहरुलाई राजनिती के हो र म किन राजनीतिमा लागे भन्नेकुरा नै थाहा हुँदैन । ठुलाबडा नेताहरुको अघिपछि हिडेर उनिहरुको आसेपासे हुनमै उनिहरु गर्वबोध गर्छन् । माथिल्लो तहको नेतृत्वले गरेको जतिसुकै ठूलो गल्ती र कालो कर्तुत पनि लुकाउन साथ दिन्छन्। मूल नेतृत्वको गल्ति ढाकछोप गर्नु र देवत्वकरण गर्नु कर्तव्यबोध ठान्छन् । नेताहरूको निम्ति अराजक बन्न पनि पछि पर्दैनन् । उनीहरुमा कुनै किसिमको भावना त छ तर योजना र राजनीतिक सँस्कार छैन । युवा भएपनि तिनिहरुबाट सुँस्कृत राजनीति सम्भव छैन् ।

देशको राजनितीक अवस्था देखेर चुप बस्ने, बेखबर हुन चाहने युवा बर्ग भन्दापनी ठुला नेताहरूको आसेपासे भएर उनीहरुको काला कर्तुत लुकाउन मदत गर्ने युवा वर्गहरु देशको लागि घातक हुन्छन् । यस्ता तीन प्रकारका युवा वर्ग भएको देशमा युवाहरु मुलधारको राजनितिमा आउन सकेनन् भनेर दुखी हुनुपनी मुर्खता नै हो । किनकी युवाहरू एकाजुट भएर अघि नबढेसम्म परिवर्तन सम्भव हुँदैन । योजना बिना राजनीतिमा हाम फाल्ने र विभिन्न खेमामा विभक्त हुने युवाबाट आशा पो के गर्नु ।


देशलाई निकास दिन नयाँ पुस्ता नवप्रवर्तनको खाँचो छ र यो कुरा हरेक युवाले बुझ्नुपर्छ । ईन्जिन खराब भएको सवारी साधनलाई जतिसुकै कुशल चालकले चलाए पनि अन्ततः दुर्घटना हुन्छ नै । त्यस्तै भ्रष्ट नेतृत्वले जति नै समृद्धि को दुहाई दिएपनी देश दुर्घटना तर्फ जान्छ नै । तसर्थ देशलाई दुर्घटना बाट जोगाउन युवा नेतृत्व अघि बढ्नै पर्छ । त्यसो त बिद्यार्थी नेता हुँदा युवाअवस्थामा खुब ठुला ठुला परिवर्तन को कुरा गर्ने हाम्रा अहिलेका नेतृत्व गण को परिवर्तन को भोक सत्तामा पुगेपछी के भयो ? आफै हरायो ? होइन राजनितिक संस्कारले त्यो परिवर्तन को भोकलाई ओझेलमा पारिदियो तसर्थ राजनितीक संस्कार परिवर्तन गर्न पनि जरुरी छ ।


हाम्रो राजनितिक संस्कार कस्तो बसेको छ त?

नेता भनेको धुर्त फटाहा, फट्याइँ गर्न जान्ने नै हुनुपर्छ भन्ने छ । चतुर्‍याइँको नाममा हामी धुर्तहरुलाई नेता बन्न लायक देख्छौँ । सोझो सिधा र चतुर्‍याइँ गर्न नजान्ने ब्यक्ति नेता बन्छ भन्ने त हाम्रो मानसिकतामै बस्दैन किनकी हाम्रो राजनीतिक संस्कार नै यहि भैसक्यो । सत्तामा पुगेपछि आफुलाई जनताको सेवक होईन शासक ठान्ने प्रवृत्ति पनि राजनीतिक संस्कार बन्दै छ ।
चुनावमा उठ्न पैसा चाहिने, कार्यकर्ता पाल्न पैसा चाहिने, अघिपछि लाग्ने भरौटे पाल्न पैसा चाहिने राजनीतिक संस्कार बसेको छ ।  निर्वाचन प्रणालीको विकारले गर्दा निर्वाचन अत्यन्तै खर्चिलो हुने परिपाटी छ । जसले गर्दा एउटा सामान्य आय आर्जन गर्ने ब्यक्तिले राजनितिमा आउँने आट गर्न सक्दैन । यस्तोमा युवाले के आँट गरुन् । एकातिर आर्थिक अभाव र अर्कोतिर राजनीति कसरी सम्भव हुन्छ ।


त्यसमाथी पनि अर्को राजनीति संस्कार के छ भने अघिल्लो पुस्ताले जुन पार्टी लाई समर्थन गर्यो मैले पनि त्यसलाई नै समर्थन गर्नुपर्छ भन्ने सोच, बाबुबाजे कांग्रेस/कम्युनिस्ट भए म चाहिँ अरुमा लाग्नु हुँदैन भन्ने मानसिकता र आफुले समर्थन गरेको पार्टीको उम्मेदवार भनेपछि जस्तो आचरण को भएपनि उसलाई नै मत दिने, ब्यक्तिको कार्यकुशलता हेर्ने भन्दापनी पार्टी हेर्ने बानिले गर्दा पनि कुशल नेतृत्वले मत पाउन गाह्रो छ । जसले गर्दा राजनीतिमा युवाहरू आउन सकेनन । अर्कोतिर युवालाई जिम्मेवारी दिने कुरामा नेतृत्व पनि चुकेको देखिन्छ ।

देशको हरेक राजनीतिक आन्दोलन र परिवर्तनको इतिहास हेर्ने हो भने हरेक इतिहासमा युवाहरुको भुमिका अग्र स्थानमा रहेको देखिन्छ । यद्यपी युवालाई केवल प्रयोग गरिएको छ । सत्तामा पुग्नको लागि टेक्ने खुट्किलो बनाईएको छ युवालाई । चुनाव जित्न आफ्नो पक्षमा धेरै जनमत ल्याउन दिनरात युवालाई खटाउने तर मुलधारको राजनितिमा युवालाई अघि सार्न डराउने । कतै युवाहरु ले सत्ता हडप्ने हुन् कि भन्ने डर मनमा पालिरहने । अनि पढ्ने उमेरमा नेताहरुको पछि दौडियो, पछि यता त उताको भएर नत हातमा सीप नत जागिर त्यसले गर्दा तिनै युवाहरू पछि अराजक बन्ने अवस्था आउँछ ।

अन्त्यमा  यो अवस्था को अन्त्य गर्न हामिले हाम्रो राजनितिक कुसंस्कारको अन्त्य गर्न जरुरी छ । जसले गर्दा सामान्य आय र पेशा भएका सभ्य इमानदार ब्यक्ति र युवाहरु राजनितिमा लाग्न सकुन् । मुलधारको राजनितिमा युवा नेतृत्व स्थापित हुन सकोस् ।

(लेखक चण्डिका तिमल्सिना वैकल्पिक राजनीति र युवा नेतृत्वबारे लेख्दै आएकि छिन् ।)

मुख्य शब्द:
Chandika Tiamlsina
Satyaa
चण्डिका तिमल्सिना
सत्या
टिप्पणी
टिप्पणी दिनको लागि लगइन् गर्नुहोस्।
हाम्रो बारेमा
करियर
सम्पर्क
समाचार/लेख पठाउनुहोस्

न्यायपालिका

कानून सम्बन्धी सम्पूर्ण खुराक एकैठाउँ